Nepali Edition

शान्ति क्षेत्र बौद्धमा विवादको वास्तविकता : आर्थिक स्रोतको लडाई

Advertisements

विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध स्तुपा संसारभरका बौद्धमार्गीको आस्थाको केन्द्रको रुपमा रहेको छ । नेपाल आउने पर्यटकको लागि पनि सबै भन्दा आकर्षक गन्तव्यको रुपमा रहेको छ, बौद्ध स्तुपा । बौद्ध स्तुपामा स्वदेशी तथा विदेशी गरी दैनिक हजारौँ भक्तजनले दर्शन र अवलोकण गर्ने गर्दछन् । तर विडम्बना नेपाल सरकारले सन् २०२० लाई पर्यटन वर्षको रुपमा मनाउने घोषणा गरिरहँदा पर्यटकीय गन्तव्यको रुपमा रहेको बौद्ध स्तुपामा भने विवाद र प्रर्दशन हुन थालेको छ ।

अन्तराष्ट्रिय कानून अनुसार विश्व सम्पदा क्षेत्रमा जुलुस, हड्ताल र प्रदर्शन गर्न पाइदैन तर स्थानीयको नाममा स्वयम् नेपाल सरकारले गठन गरेको बौद्धनाथ क्षेत्र विकास समितिकै केही व्यक्तिहरुको संलग्नतामा यस्ता गतिविधि भइरहेको स्थानीयको गुनासो छ । जसले गर्दा विश्व शान्तिको प्रतिकको रुपमा रहेको बौद्ध स्तुपा अवलोकण र भ्रमण गर्न आउँने पर्यटकमा समेत नकारात्मक सन्देश प्रवाह हुन थालेको छ भने भक्तहरुलाई दर्शनमा समेत असहज हुन थालेको छ ।

वास्तबमा विगतदेखि बौद्ध स्तुपाको आर्थिक स्रोतबाट लाभ लिइरहेका केही व्यक्तिहरुले स्रोत गुम्ने डरले स्थानीयको नाममा बौद्ध स्तुपाका प्रमुख औतारी धर्मगुरु रिम्पोर्छे चिनिया लामा भूपति बज्र लामा विरुद्ध झुटा आरोप लगाउने गरिएको स्थानीय र लामाहरुको भनाइ छ । केही सञ्चार माध्यमले समेत वास्तविकता नबुझी समाचार सम्प्रेषण गर्दा भ्रम सृजना हुने गरेको समेत उनीहरुको दुखेसो छ । खास बौद्धमा विवादको वास्तविक नालिवेली के हो त ?

१) बिवादको वीउ बौद्ध स्तुपाको जिर्णद्धारमा आर्थिक हिनामिना :

बौद्ध स्तुपाको संरक्षण सम्वर्द्धन तथा नियमित पूजा तथा पर्व व्यवस्थापन परम्परादेखि नै बौद्ध तथा मेलम्ची घ्याङ गुठीको प्रमुख चिनिया लामाद्वारा हुने व्यवस्था छ । नेपाल सरकारले बौद्ध स्तुपाको भौतिक विकासमा सहज होस भनेर २०५३ सालमा बौद्धनाथ क्षेत्र विकास समिति गठन आदेश जारी गरी संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय अन्तर्गत बौद्धनाथ क्षेत्र विकास समिति गठन गरिएको हो । हाल बौद्ध तथा मेलम्ची घ्याङ गुठीको प्रमुख चिनिया लामालाई भने भूमी सुधार मन्त्रालय अन्तर्गत गुठी संस्थानले नियुक्त गर्ने कानुनी प्रवधान छ ।

२०७२ सालको भूकम्पले बौद्ध स्तुपामा क्षति पुग्यो र बौद्धनाथ क्षेत्र विकास समितिले जिर्णद्वारको अगुवाई गर् यो । तर जिर्णद्वारको क्रममा भक्त र दाताबाट संकलन भएको १४ करोड मध्ये सात करोड खर्च भयो भने करोडौँ रकम हिनमिना गरियो । त्यस्तै गजुरमा ३१ किलो सुन हालिएको भने पनि उक्त परिमाणको सुनै नहाली सुन हिनामिना गरियो । कतिपय सञ्चार माध्यममा ३१ मध्ये १९ किलो मात्र सुन हालेको समाचार पनि सार्वजनिक भयो । यस विषयमा त्यस बेला बौद्ध तथा मेलम्ची घ्याङ गुठीका प्रमुख चिनिया लामा पदमा नियुक्त भएर आएका औतारी धर्मगुरु भूपति बज्र लामाले बौद्ध स्तुपा जिर्णद्वारमा आर्थिक पारदर्शिताको कुरा उठाए । त्यसपछि तत्कालिन क्षेत्र विकास समितिका पदाधिकारीले घ्याङ गुठीलाई ‘वाईपास’ गर्न थाले ।

बौद्ध स्तुपाको जिर्णद्वारपछि प्राण प्रतिष्ठा गर्ने क्रममा समेत बौद्ध स्तुपाको प्रमुख धर्मगुरु चिनिया लामा परमपुज्य औतारी धर्मगुरु भूपति बज्र लामा र स्थानीय गुम्बाका लामाहरुलाई बाइवास गर्दै तत्कालिन क्षेत्र विकास समिति र पुनःनिर्माण समितिले लाखौ रुपैया लिएर विदेशी लामाहरुलाई पुजा गर्न दिने सेटिङ गरियो । यसले बौद्धनाथ क्षेत्र विकास समिति र बौद्ध मेलम्ची घ्याङ गुठीका प्रमुख औतारी धर्मगुरु बीच दुरी बढायो । पुनःनिर्माणमा भएको आर्थिक अनियमितताको विषयमा महालेखा परिक्षकको कार्यालयमा समेत उजुरी परेको छ । त्यस्तै यो विषयमा तत्कालिन संसदमा समेत कुरा उठेको थियो ।

२) पूजा र म्युजिक भिडियो सुटिङको लागि पैसा उठाउन रोक लगाएपछि अर्को आक्रोशः

बौद्ध स्तुपामा चिनिया लामा भूपति बज्र लामा नियुक्त हुनु भन्दा पहिला केही व्यक्तिको हालीमुहाली थियो । विदेशी लामाहरुलाई बौद्ध स्तुपाको माथिल्लो भागमा गएर पुजा गर्न दिने र पैसा उठाउने गरिन्थ्यो । त्यस्तै स्तुपामाथि म्युजिक भिडियो र फिल्म सुटिङ गरेर पैसा उठाउने गरेका थिए । तर चिनिया लामाको पदमा धर्मगुरु भूपति बज्र लामा नियुक्त भएर आउना साथ उनले बौद्ध स्तुपामाथि पार्टी प्यालेस जस्तो भोज, भतेर गर्ने, धार्मिक मर्यादा विपरित स्तुपा कुल्चेर पुजा गर्ने तथा विदेशी लामाबाट मनोमानी पैसा उठाउन रोक लगाए ।

त्यस्तै स्थानीयको माग अनुसार पवित्र धार्मिक क्षेत्रमा अश्लिल म्यूजिक भिडियोको ‘सुटिङ’ गर्न पनि रोक लगाए । यस्ता फिल्म सुटिङमा रोक लगाउन न्यायालयबाट समेत आदेश भयो । त्यसपछि केही व्यक्तिले मनोमानी विदेशी लामाहरुलाई स्तुपाको माथिल्लो भागमा पुजा गर्न दिएर पैसा असुल्न नपाएपछि चिनिया लामाले पूजा गर्न नदिएको र पूजा स्थल तोक्ने काम गरेको भन्दै भ्रम छर्न थाले ।

३) क्षेत्र विकास समितिलाई मूल प्रवेशद्वारमा दैनिक उठ्ने लाखौ रुपैया गुम्ने डर :

बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध स्तुपाको मूल प्रवेशद्वारमा एक जना विदेशी नागरिकबाट ४ सय पचास रुपैया सम्म प्रवेश शुल्क उठाउने गरेको छ । यसरी दैनिक रुपमा सयौँ विदेशी पर्यटक र भक्तबाट लाखौ रुपैया संकलन हुने गरेको छ । त्यसैले क्षेत्र विकास समितिमा नियुक्त हुन विगतदेखि नै ठूलो आर्थिक चलखेल समेत हुने गरेको छ । पछिल्लो समय घ्याङ गुुठी र क्षेत्र विकास समिति बीच क्षेत्राधिकारको विषयमा विवाद हुँदै जाँदा नियमित पूजा तथा पर्व व्यवस्थापनमा समेत अवरोध गरेको भन्दै पाटन उच्च अदालतमा घ्याङ गुठीका प्रमुख औतारी धर्मगुरु रिम्पोर्छे भूपति बज्र लामाले रिट दायर गरे ।

उक्त रिटको फैसलामा समेत मुख्य प्रवेशद्वारमा पैसा उठाउनु पर्ने हो वा होइन उठाउनु पर्ने भए पनि मन्त्रालय लगायत सरोकारवाला निकाय बसेर मापदण्ड बनाएर मात्र पैसा उठाउन भन्ने आदेश जारी भयो । जसले गर्दा क्षेत्र विकास समितिलाई आफ्नो आम्दानीको मुख्य स्रोत बन्द हुने आशंका भयो । त्यसैले अनेक बहाना बनाएर क्षेत्र विकास समितिले पनि धर्म गुरु चिनिया लामाको विरुद्ध विभिन्न गतिविधि गर्न थाले ।

४) मापदण्ड विपरितको छ्योमे घर ( बत्ति बाल्ने ठाउँ ) हटाउन र घ्याङ गुठीको जग्गा अतिक्रमण रोक्न खोज्दा तामाङ कल्याण गुठीे खनियो :

विश्व सम्पदा सूचीमा अनुमति र मापदण्ड विपरित कुनै पनि भौतिक संरचना बनाउन पाइदैन । तर बौद्ध स्तुपाको मन्दिर भित्र नै तामाङ कल्याण गुठीले अस्थायी टिनको टहरा बनाएर बत्ति बाल्दै पैसा उठाउने गरेको छ । बौद्धमा बत्ति बाल्न आउने भक्तबाट एउटा बत्तिको रु.१० देखि रु.१०८० सम्म तामाङ कल्याण गुठीले लिने गरेको छ । यसरी दैनिक यही बत्ति बाल्ने स्रोतबाट तामाङ कल्याण गुठीले लाखौ रुपैया उठाउने गरेको छ ।

त्यस्तै बौद्ध तथा मेलम्ची घ्याङ गुठीको फूलबारी बगैँचा अतिक्रमण गरी पार्टी प्यालेस समेत बनाएर तामाङ कल्याण गुठीले आम्दानी गर्ने गरेको छ । उक्त छ्योमे घरमा (बत्ति बाल्ने ठाउँ) विदेशी पर्यटक समेत जलेर घाइते हुने र आत्मदाहको प्रयास समेत भएपछि उक्त छ्योमे घर हटाउन पुरातत्व विभागले समेत पत्र काटेको थियो । स्थानीयले समेत उक्त छ्योमे घर हटाउन हस्ताक्षर संकलन गरी विभिन्न निकायमा बुझाएका थिए । तर तामाङ कल्याण गुठीले हालसम्म न त छ्योमे घर हटाएको छ न त अतिक्रमित जग्गा फिर्ता गरेको छ ।

बरु घ्याङ गुठीको अतिक्रमित जग्गा फिर्ता गर्न खोजेपछि बौद्ध स्तुपाका प्रमुख औतारी धर्मगुरु चिनिया लामामाथि तामाङ कल्याण गुठीका अध्यक्ष खड्गजित लामाले आफ्नो कमजोरी ढाकछोप गर्न र आर्थिक स्रोत रक्षाको लागि उल्टो ‘बौद्ध बचाउ संघर्ष समिति’ गठन गर्दै चिनिया लामा विरुद्ध स्थानीयको हवला दिँदै केही व्यक्तिहरु प्रयोग गरेर नारा, जुलुस गर्ने, धर्ना दिने र विभिन्न निकायमा जाने र शक्ति केन्द्र धाउने जस्ता कार्य गर्न थाले । यसरी क्षेत्र विकास र घ्याङ गुठीको विवादमा तामाङ कल्याण गुठी पनि मुछिन पुग्यो र चिनिया लामा विरुद्ध उत्रियो ।

५) बुद्धचित्त माला प्रकरण :

पछिल्लो समय स्थानीयको नाममा केही व्यक्तिले बौद्ध तथा मेलम्ची घ्याङ गुठीको कार्यालय घेर्ने र विश्व सम्पदा क्षेत्रमा नारा, जुलुस गर्नुको साथै स्तुपाका प्रमुख चिनिया लामा विरुद्ध धर्ना जुलुस गर्ने र बौद्ध स्तुपाका लामा तथा कर्मचारीलाई धम्क्याउने काम गरिरहेको छन् । यसको खास कारण हो बौद्ध स्तुपा परिसरमा रहेको बुद्धचित्त । बौद्ध स्तुपा र परिसरमा रहेको कित्ता नं ४७ र १९० जग्गा बौद्ध तथा मेलम्ची घ्याङ गुठीको स्वामित्वमा रहेको छ र स्तुपा परिसर भित्रको सम्पूर्ण अधिकार बौद्ध तथा मेलम्ची घ्याङ गुठी र त्यसको प्रमुख चिनिया लामाको रहेको भनि उच्च अदालत पाटनबाट समेत फैसला भएको छ । तर घ्याङ गुठीलाई जानकारी समेत नदिई क्षेत्र विकास समितिका सदस्य मनोज लामाले उक्त बुद्धचित्तको दाना टिप्न लगाए ।

उक्त विषयमा घ्याङ गुठीका लामा र कर्मचारीले कसले बुद्ध चित्तको दाना टिपेको भनेर बुझ्न खोज्दा मनोज लामाले धम्क्याएपछि ज्यानको सुरक्षा पाउ भन्दै घ्याङ गुठीका लामाहरु र कर्मचारीले मनोज लामा विरुद्ध प्रहरी समक्ष उजुरी दिएको स्थानीयले जानकारी दिए । बुद्धचित्तको तीन रुख मध्य २ रुखको दाना टिपिएको छ भने एक रुख टिप्न बाँकी छ । उक्त दाना हाल बौद्धनाथ क्षेत्र विकास समितिले राखेको छ ।

यसरी बुद्धचित्तको दाना टिपेर बिक्री गर्न नपाएपछि स्थानीयको नाममा क्षेत्र विकास समितिका केही व्यक्ति र तामाङ कल्याण गुठीका अध्यक्ष खड्गजित लामा तथा सचिव भूवन लामा लगायतको अगुवाइमा बौद्ध तथा मेलम्ची घ्याङ गुठीका प्रमुख विरुद्ध नारा, जुलुस गर्ने र गुम्बा घेराउ गर्न थाले । उक्त घटना बुद्धचित्तको दाना टिप्न नपाएको आक्रोश र बौद्ध स्तुपामा एकलौटी हालीमुहाली गरिरहेकाहरुलाई चिनिया लामा तगारो बनेपछि त्यसको प्रतिशोध भएको बौद्ध तथा मेलम्ची घ्याङ गुठीको भनाइ छ ।

६) व्यवस्थापन समिति गठनको माग :

बौद्धका केही व्यक्तिले औतारी धर्मगुरु चिनिया लामा पदमा नियुक्त भएर आएपछि बौद्ध मेलम्ची घ्याङ गुठीमा व्यवस्थापन समिति बस्ने र चिनिया लामालाई आफू अनुकुल प्रयोग गरेर आर्थिक स्रोत हातमा लिने योजना बनाएका थिए । तर चिनिया लामा धर्मगुरु भूपति बज्र लामाले गुठी संस्थान ऐन अनुसार घ्याङ गुठीमा कुनै पनि व्यवस्थापन समिति गठन गर्ने कानुनी व्यवस्था नभएकाले धार्मिक रुपमा मात्र सहयोग गर्न आग्रह गरे ।

त्यस्तै उनले बौद्ध सुधारको योजना बनाउँदै धार्मिक क्षेत्रलाई व्यापारिक स्थल बनाउन नहुने भनेपछि व्यवस्थापन समितिमा बस्न नपाएका केही व्यक्ति चिडिए र व्यवस्थापन समिति बनाउन माग गर्दै गुठी संस्थान लगायतका निकाय धाउन थाले । तर कानुनी प्रवधान नै नभएपछि व्यवस्थापन समिति गठन हुन सकेन र उनीहरु व्यवस्थापन समिति नबनाएपछि उल्टो धर्मगुरु विरुद्ध अनर्गल प्रचारमा लागे ।

६) मन्त्रालयले क्षेत्राधिकार निर्धारणको गृहकार्य थाल्दा रडाको मच्चाउने खेल :

बौद्ध स्तुपामा नियमित पूजा पर्व व्यस्थापन गर्ने अधिकार बौद्ध तथा मेलम्ची घ्याङ गुठीका प्रमुख चिनिया लामाको रहेको छ । त्यस्तै भौतिक विकासका लागि बौद्धनाथ क्षेत्र विकास समतिले कार्य गर्ने भनिएको छ । भूमी सुधार अन्तर्गत पर्ने घ्याङ गुठी र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पर्ने क्षेत्र विकास बीच क्षेत्राधिकारको विषयमा पटक पटक विवाद भएपछि दुई मन्त्रालय र गुठी संस्थानले छलफल गरी कुन निकायले के कति काम गर्ने भनेर कार्य क्षेत्र निर्धारण गर्न मन्त्रालयले गृहकार्य गर्न थालेको थियो ।

त्यही बेला विभिन्न सरकारी निकायमा धर्ना जुलुस गर्ने र बौद्ध तथा मेलम्ची घ्याङ गुठीका प्रमुख चिनिया लामा कार्य क्षेत्र खुम्च्याउने योजना सहित अफ्वाह फैलाउन पुनः स्थानीयको नाममा स्वयम् नेपाल सरकारले बौद्धको विकासकालागि गठन गरेको क्षेत्र विकास समितिका केही पदाधिकारी र तामाङ कल्याण गुठीका ब्यक्तिहरुले अशोभनीय गतिविधि गरिरहेका छन् । केही व्यक्तिको स्वार्थ पुरा गर्न गरिएको यस्ता गतिबिधिले बौद्ध स्तुपाको गरिमा, धर्म, संस्कार परम्परामाथि प्रहार हुन थालेको भन्दै स्थानीय बयोबृद्धाहरुले चिन्ता व्यक्त गर्न थालेका छन् ।

७) तामाङ कल्याण गुठीको अर्को ज्यादती :

बौद्ध स्तुपाको प्रमुख पुजारी चिनिया लामा गुठी संस्थानले नियुक्त गर्ने गर्दछ । तर चिनिया लामा नभएको सयममा तामाङ कल्याण गुठीका अध्यक्ष खड्गजित लामा र सचिव भुवन लामा लगायतका व्यक्तिले तामाङ कल्याण गुठीका लामा पूर्ण लामालाई बौद्धको प्रमुख लामा नियुक्त भएर आएको भन्दै गैरकानुनी ढंगबाट झुटो प्रचार गर्दै बौद्ध स्तुपाको लामालाई धम्क्याउने र अजिमा थानमा पूजा गर्न समेत रोक लगाउने प्रयास गर्दै प्रमुख धर्मगुरुको आशनमा बसेर पूजा गर्न लगाउने जस्ता कार्य समेत गरियो ।

तामाङ कल्याण गुठीका उक्त कार्य धार्मिक र कानुनी रुपमा गलत भएको पुजामा सहभागी स्थानीय वृद्धहरुले बताएका छन् । घ्याङ गुठीका लामाहरुले भने धर्मगुरु गुठी संस्थानलाई जानकारी गराएर संयुक्त धार्मिक संगठनको कार्यक्रम अन्तर्गत चीन गएको जानकारी गराएका छन् ।

८) चिनिया लामाले स्थानीयको के बिगारे ?

अहिले चिनिया लामा विरुद्ध स्थानीयको नाममा आन्दोलन भइरहेको छ । तर स्थानीयको चिनिया लामाले के विगारे ? जसको कारण उनी विरुद्ध स्थानीयले आन्दोलन नै गर्नु पर्ने अवस्था आयो भनेर खोज्दा स्थानीयलाई आघात पर्ने कुनै काम गरेको देखिदैन । धर्म गुरु चिनिया लामा आफ्नो निजी निवासमा बस्छन् र बौद्धमा गएर पुजा गर्छन । काम विशेष बाहेक उनी हत्तपत्त बाहिर समेत निस्किदैनन् । न उनले स्थानीयको कुनै जग्गा जमिन हडपेको छ न त स्थानीयलाई मार पर्ने कुनै गतिविधि नै गरेको देखिन्छ ।

यदी चिनिया लामाले कानुन विपरित आर्थिक अपचल वा कुनै काम गरेको भए राज्यको सम्बन्धीत निकायमा गएर कानुनी उपचार खोज्ने बाटो खुल्ला छ । तर त्यसो नगरी किन स्थानीयको नाममा आन्दोलन हुन्छ भन्दा बौद्धका लामा भन्छन् यो स्थानीयको कुरा होइन केही व्यक्तिको ‘इगो’ को कारण हो । बरु चिनिया लामाले घ्याङ गुठीको जग्गा अतिक्रमण रोक्ने र मनोमानी बौद्धमा पैसा उठाउन कार्य रोक्न खोज्दा उल्टो गुठीको जग्गा अतिक्रमण गरेर हैकम चलाएर बसेकाहरुले स्थानीयको बहाना बनाउदै चिनिया लामा हटाउनु पर्छ भन्दै आन्दोलन गर्ने थालेको स्थानीय नै बताउछन् ।

त्यसैले बौद्ध बासी समेत शान्ति क्षेत्र बौद्धमा कुनै समस्या भए छलफल गरेर समाधान गर्नुको साटो बौद्धकै प्रतिष्ठामा आँच आउनेगरी आन्दोलन चर्काउनु आश्चर्य र अशोभनीय कार्य भएको गुनासो गरिरहेका छन् । बौद्धबासीको नाममा आन्दोलन गराएर कतै बौद्धलाई बदनाम गराउने चलखेल त भएको छैन ? भन्दै बौद्धका स्थानीयको अर्को चिन्ता छ ।

९) बौद्ध विवादको परिणाम :

बौद्धनाथ क्षेत्र विकास समिति र बौद्ध तथा मेलम्ची घ्याङ गुठी दुवै नेपाल सरकार अन्तर्गत रहेका निकाय हुन् र दुवै बौद्ध धर्म र बौद्धनाथ क्षेत्रको विकासको लागि गठन भएका संस्था हुन । तर पछिल्ला समय दुई संस्थाको विवादले बौद्धको विकास अबरोध खडा गर्ने र शान्ति क्षेत्रको रुपमा रहको बौद्धको शाख गिराउने काम भएको छ । त्यति मात्र होइन विदेशी पर्यटक र सरकारी निकायमा समेत गलत सन्देश प्रवाह भएको छ ।

आर्थिक स्वार्थसंग जोडिएर केही व्यक्तिहरुले अन्तराष्ट्रिय रुपमा समेत स्थापित नेपालका धर्मगुरु र बौद्ध स्तुपा प्रति अनास्था पैदा गर्ने कार्य गर्दा सिंगो बौद्धमार्गी प्रति नै आघात पुग्न थालेको खेम्पो तथा लामाहरुले गुनासो छ । जान अञ्जान र नियतबस भएका यस्ता कार्यले आस्थाको धरोहरको प्रतिष्ठा गिराउने काम मात्र भएको छैन बौद्धको विवाद स्वयम् आफ्नै खुट्टामा बञ्चरो सावित हुँने चिन्ता छ ।

१०) समाधान के ?

बौद्धको विवाद यति धेरै उत्कर्षमा पुग्नुमा सरकारी निकायको मौनता नै प्रमुख देखिन्छ । मुख्य गरी समस्या समाधान गुठी संस्थान, भूमी सुधार मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पहल गर्नु पर्ने हो । तर गुठी र मन्त्रालयले अदालतको आदेशको समेत बेवास्ता गरेको देखिन्छ । जसले गर्दा बौद्धमा विवाद चर्काउनेहरुको लागि सहज भएको छ ।

त्यसैले अब अदालतको फैसलाको कार्यान्वयन र एकै स्थानमा काम गर्ने दुई संस्थाविच स्पष्ट रुपमा कार्य क्षेत्र निधारण गर्नु जरुरी छ । त्यस्तै सुरक्षा निकाय र सरकारी निकायबाट विभिन्न शक्ति केन्द्रका अवैध गतिविधि र अवैध रुपमा हुने आर्थिक असुलीलाई नियन्त्रण गर्न जरुरी छ ।

क्षेत्र विकास समिति र तामाङ कल्यण गुठीले क्षणिक स्वार्थमा रुमलिनु भन्दा पनि सम्पूर्ण बौद्धमार्गी र तामाङ समुदायको हितमा बौद्धमा शान्ति कायम गर्न उद्धार हन जरुरी छ । समस्या समाधानको लागि ताल्लुकदार दुई मन्त्रालय र गुठी संस्थानको रोहवरमा क्षेत्र विकास समिति र घ्याङ गुठीबीच वार्ताबाट समाधान खोज्नु उपयुक्त हुने देखिन्छ ।

(नोटः यो समाचार बौद्धमा भइरहेको विवाद बारे स्थानीय, लामा तथा विभिन्न सरोकारवाला व्यक्तिसंगको संवादपछि तयार पारिएको हो । विशेष कारण स्रोतका रुपमा रहेका कुनै व्यक्तिको नाम उल्लेख गरिएको छैन । यस विषयमा अन्य पक्षसंग पनि छलफल गरी थप समाचार पुन: सार्वजनिक गरिने छ )

Advertisements
Similar Posts
Advertisements
Loading...