काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ नेपाल र भारतबीच समस्या रहित बर्ष घोषणा हुने बताएका छन् ।
“लिपुलेख, कालापानी र लिम्पीयाधुरा नेपालको भूभाग हो भन्ने कुरामा कुनै भ्रम छैन र दुई देशबीचको विवाद कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सकिन्छ भन्ने विश्वास दिलाउन चाहन्छु,” प्रधानमन्त्री ओलीको भनाई थियो ।
भारतीय न्यूज च्यानल डब्ल्यूआईओएनलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले देशको भूगोल सानो हुन सक्छ तर सार्वभौमिकता ठूलो वा सानो नहुने तर्क गरेका छन् ।
उनले आफु कामचलाऊ सरकारका प्रधानमन्त्री नभई कार्यकारी प्रधानमन्त्री भएको दावी गरे साथै नेपाल चीन र भारत दुबै देशसँग मित्रवत छिमेकी मुलुकको रुपमा सम्बन्ध राख्न चाहेको बताए ।
उनको नेपालले कुनै पनि देशलाई आन्तरिक मामिलामा हस्तक्षेप गर्न नदिने र उत्तरी सिमानामा चिनियाँ पक्षबाट कुनै अतिक्रमण नभएको दाबी छ। उनले नेपाल र भारतबीच केही विवाद र मतभेद भएपनि वार्ताबाट समाधान हुन बताए ।
प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल प्रचण्ड अस्थिर र चरित्रहीन नेता भएको र उनले आफूलाई पदबाट हटाउन षडयन्त्र गरिरहेको आरोप लगाए ।
दुई देशबीच केही मुद्दाहरुमा बहस भइरहेको भन्दै उनले यो बहसलाई गलत अर्थमा लिन नहुने बताए ।