Nepali Edition

काँग्रेसको केन्द्रीय पदाधिकारीमा ८ जना र केन्द्रीय समिति १६१ सदस्यीय हुने

काठमाडौं । काँग्रेसका शीर्ष नेताहरुबीच मंगलबार बेलुका विधान मस्यौदामा सहमति जुटेको छ यद्यपि बुधबारको बन्दसत्रमा विधान मस्यौदा पाउन सकेनन् । 

मंगलबार बेलुका शीर्ष नेताहरुबीच सभापतिसहित केन्द्रीय पदाधिकारी ८ जनाको हुने र कोषाध्यक्षबाहेक सवै निर्वाचित हुनुपर्ने विषयमा सहमति भएको थियो ।

‘सहमतिका विषय केन्द्रीय समितिले पास गर्नुपर्ने हुन्छ । त्यसका लागि केन्द्रीय समिति बैठक बसिरहेको छ । पास भएपछि महासमितिमा विधान पेश हुन्छ’ प्रवक्ता शर्माले बताए । 

काँग्रेस नेताहरुका अनुसार केन्द्रीय समितिले विधान पास गरेपछि महासमितिले सहजै अनुमोदन गर्ने भएकाले पहिला केन्द्रीय समितिबाट विधान पास गर्न लागिएको हो । 

विधानमाथि छलफल र बहस गर्न बोलाइएको महासमिति बैठकमा समयमै विधान नपाउँदा खुलेर बहस गर्न नपाएको सदस्यहरुले गुनासो गरेका छन् । बैठकमा विधान नआएपछि जारी महासमिति बैठकमा अन्य प्रतिवेदनमाथि छलफल भईरहेको छ ।

बैठकमा राजनीतिक, सांगठिनक, आर्थिक नीतिसम्बन्धी र पार्टीको आन्तरिक लेखासम्बन्धी प्रतिवेदनमा छलफल भइरहेको बताईएको छ । 

विधान मस्यौदा कार्यदलका तर्फबाट प्रस्तावित विधान भने महासमितिको बिहीबार बस्ने बैठकमा मात्रै प्रस्तुत गरिने भएको छ । विधान संशोधन मस्यौदा महामन्त्री पूर्णबहादुर खड्काले पेश गर्ने तयारी गरेका छन् ।

विधान संशोधनमा पदाधिकारीको संख्या पनि थप भएको छ । जसमा १ जना सभापति २ उपसभापति, २ महामन्त्री, २ सहमहामन्त्री महाधिबेशनबाटै निर्वाचित भएर आउनुपर्नेछ भने कोषाध्यक्ष र प्रबक्तालाई निर्वाचित केन्द्रीय समिति सदस्यहरुमध्यबाट मनोनयन गर्ने सहमति बनेको छ ।

यो सहमतिसँगै अब काँग्रेसको केन्द्रीय पदाधिकारी संख्या ८ हुनेछ । त्यस्तै काँग्रेसले पदाधिकारीसँगै केन्द्रीय समितिको आकार पनि बढाएको छ । काँग्रेसको अवको केन्द्रीय समिति १६१ सदस्यीय हुनेछ । 

Leave a Reply

Your email address will not be published.

Loading...