Nepali Edition

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीद्वारा सोनाम ल्होछारको शुभकामना व्यक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सोनाम ल्होछार पर्वले विश्वशान्ति र भ्रातृत्व प्रबर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेकी छन् ।

राष्ट्रपतिले यस पर्वबाट सबै नेपालीबीच एकता सुदृढ गर्दै नयाँ उत्साह एव उमंगका साथ देशमा शान्ति, सदभाव र सहिष्णुता कायम गरी आर्थिक, सामाजिक र सांस्कृतिकरूपले समृद्ध नेपाल निर्माण गर्ने प्रेरणा मिलोस् भन्ने कामना गरेकी छन् ।

यसैबीच उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक सदभावलाई सुदृढ गर्दै राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएको बताएका छन् ।

तामाङ समुदायको सोनाम ल्होछार २८५५ का अवसरमा आज शुभकामना सन्देश दिँदै उपराष्ट्रपति पुनले नेपाल राष्ट्रको पहिचान र अमूल्य निधिका रुपमा रहेका मौलिक संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्ने प्रमुख दायित्व राज्यको रहेको औंल्याउँदै यसतर्फ सबैको ध्यान जाने विश्वाससमेत गरेका छन् ।

यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीले साँस्कृतिक पर्व र भेषभुषाहरु मार्फत पनि समृद्धिको अभियानमा टेवा पुर्‍याउन सकिने बताएका छन् । सांस्कृतिक विविधताले नेपाललाई एकसूत्रमा बाँध्न महत्वपूर्ण योगदान गरेको पनि उनले बताएका छन् ।

नेपालमा बसोबास गर्ने सबै जातीहरुका चाडपर्वहरुप्रति सरकारको उत्तिकै सदभाव र सम्मान रहेको प्रधानमन्त्री ओलीले स्पष्ट पारेका छन् । उनले समृद्धिको यात्रामा सबै जातजातीको सकारात्मक सहयोगको अपेक्षा पनि गरेका छन् ।

प्रधानमन्त्री ओलीले तामाङ जातिले मनाउने सोनाम ल्होसार पर्वको अवसरमा स्वदेश तथा विदेशमा बसोबास गर्ने सम्पूर्ण तामाङ समुदायका दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, दीर्घायू एवं उत्तरोत्तर प्रगतिको शुभकाना व्यक्त गरेका छन् ।



Leave a Reply

Your email address will not be published.

Loading...