Nepali Edition

कालिञ्चोक गाउँपालिका वडा ४ मा वडाध्यक्षको मनोमानी काँग्रेस आन्दोलित

दोखला । कालिञ्चोक गाउँपालिका वडा नं. ४ को विकास निर्माणका काममा वडाध्यक्ष केशव ठकुरीले मनोमानी गरेको स्थानीयको गुनासो रहेको छ । दीर्घकालीन सोच नभएका वडाध्यक्ष ठकुरीले वडाको उपस्वास्थ्य चौकीको भवन बनाउन भूगोल र स्थानीयको बसोबासलाई ध्यान नदिई आफ्नै घरमुनि निर्माण गर्न थालेपछि स्थानीय आक्रोशित भएका हुन् ।

सबै वडाबासीलाई पायक पर्ने ठाउँमा वडाको केन्द्र एवं उपस्वास्थ्य चौकी निर्माण गर्नुपर्छ भन्ने वडाबासीको सुझावलाई बेवास्ता गर्दै स्वेच्छाचारी ढङ्गले अपारदर्शी रुपमा आफ्नै घरमुनि उपस्वास्थ्य चौकी निर्माण गरेको नेपाली काँग्रेस वडा नं. ४ का वडाध्यक्ष केदार कार्कीले बताए । गाउँपालिकाको केन्द्र राख्ने सन्दर्भमा पनि वडाध्यक्ष केशव ठकुरीले आफ्नै वडामा राख्न भूमिका निर्वाह गर्नुको सट्टा व्यक्तिगत स्वार्थ राखी गाउँपालिकाका अध्यक्ष विनकुमार थामीको इसारामा नाचिरहेको स्थानीयको आरोप लाग्दै आएको छ ।

सबैलाई पायक पर्ने ठाउँमा उपस्वास्थ्य चौकी निर्माण गरौँ भन्दा अहिले गाउँदेखि केन्द्रसम्म कम्युनिष्ट सरकार छ, तिमीहरु जे गर्छौ गर भन्दै जबरजस्ती रुपमा अध्यक्ष ठकुरीले सुरक्षाकर्मीको समेत आडमा आफ्नै घरमुनि उपस्वास्थ्य चौकी निर्माण गरिरहेको हुँदा आफूहरु सशक्त आन्दोलनमा उत्रनुपरेको काँग्रेस अध्यक्ष केदार कार्कीले बताए ।

अपायक पर्ने ठाउँमा उपस्वास्थ्य चौकी राख्दा उपस्वास्थ्य चौकीबाट स्थानीयबासी जति लाभान्वित हुनुपर्ने हो त्यति हुन सक्दैनन् त्यसैले राज्यको लगानी खेर जान नदिन पनि आन्दोलन गर्नुको विकल्प नरहेको कार्कीको भनाइ रहेको छ ।

प्रतिपक्षी नेपाली काँग्रेसले वडा कार्यालय तथा उपस्वास्थ्य चौकी भवन सबै स्थानीयबासीलाई पायक पर्ने ठाउँमा राख्नुपर्ने , छलफल विना नै उपस्वास्थ्य चौकीको जग्गा खरिद तथा भवन निर्माण र सो स्थान अपायक ठाउँमा भएकाले तत्काल बन्द गरी वडा कार्यालय र उपस्वास्थ्य चौकी एकै ठाउँमा जनताको पहुँच पुग्ने गरी राख्नुपर्ने , विकास बजेट छनोट गर्दा सबै पक्षको सुझावलाई समेट्नु पर्ने, विना विज्ञापन नियुक्ति गरिएका कर्मचारीहरुका बारेमा स्पष्टीकरण दिनुपर्ने, वडाका सम्पूर्ण काम पारदर्शी हुनुपर्ने जस्ता माग राखी आन्दोलनमा उत्रेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...