काठमाडौं । नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल नेपाल जनसाँस्कृतिक महासंघ केन्द्रीय उपाध्यक्ष तथा नाट्यकर्मी संघका केन्द्रीय अध्यक्ष किशोर अनुरागले माओबादी केन्द्र छोडेको समाचार केही महिना पहिले आएको थियो। तर उनले आफू माओवादी केन्द्रमा रहेको वा नरहेको कुनै औपचारिक रुपमा बोलेका भने थिएनन्।
हुन त उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा संसद विघटन गरेको केही समय पछि नै प्रधानमन्त्रीसँग भेट गरेको फोटो सामाजिक सञ्जालमा पोस्ट गरेर आफू नेकपाको केपी ओली पक्षमा रहेको संकेत दिइसकेका थिए। माओवादी केन्द्रका महाधिवेशन आयोजक समितिका सदस्य समेत रहेका अनुराग नेकपामा रहँदा केपी ओली पक्षीय र्यालीको महासंघको तर्फबाट माइतिघर मण्डलामा र्याली संयोजक समेत भएका थिए।
पछिल्लो समय नेकपा विघटनसँगै माओवादी र एमाले छुट्टाछुट्टै पार्टी भएपछी उनी कुनै कार्यक्रममा देखिएनन्। भोजपूर स्थायी घर भएका अनुराग लकडाउनको मुखमा भएको एमाले निकट भोजपूर सम्पर्क मञ्चको कार्यक्रममा अथितिको रुपमा भने देखा परे। उनले आफू पहिले नै एमाले प्रवेश गरिसकेको र अहिलेसम्म महासंघका केन्द्रीय सदस्य तथा अखिल नेपाल नाट्यकर्मी संघका महासचिव अशोक शिवाकोटी, कोषाध्यक्ष कृष्णजित राई लगायत नाट्यकर्मी संघका दुईतिहाई केन्द्रीय सदस्यहरु एमालेमा प्रवेश गरिसकेको जानकारी दिएका छन्।
यसैगरी महासंघका केन्द्रीय सदस्य तथा नाट्यकर्मी संघका प्रदेश नम्बर १ का अध्यक्ष जीवन थापा ‘क्षितिज’ लगायत प्रदेश कमिटीका सदस्यहरु र विभिन्न जिल्लाका अध्यक्ष लगायत जिल्ला पदाधिकारीहरु तथा प्रदेश नम्बर ३ का अधक्ष्य जेवी रुवालीसहित विभिन्न जिल्लाका अध्यक्ष र पदाधिकारीहरुलाई एमालेमा प्रवेश गराई सकिएको जानकारी दिएका छन् ।
उनले देश र जनताको पक्षमा, विकास र समृद्धिको पक्षमा एमाले बाहेक अरु पार्टी लड्न नसक्ने भएकाले एमालेलाई विश्वास गरिएको बताएका छन्।