ककनी । नेत्र स्मृति प्रतिष्ठानको पहलमा स्वर्गीय नेत्र बहादुर तामाङको स्मृतिमा निर्माणाधीन छ्योर्तेनमा गुरु रिन्पोछेको प्रतिमा प्रतिस्थापन गरिएको छ । लामा गुरुहरुद्वारा विधिपूर्वक पूजा गरी छ्योर्तेनमा गुरु रिन्पोछेको प्रतिमा प्रतिस्थापन गर्नुका साथै अविलोकितेश्वर र अमिताभा बुद्धको समेत पूजा गरिएको प्रतिष्ठानका संयोजक राजु लामाले जानकारी दिएका छन । यो सँगै ककनी नुवाकोटका समाजसेवी एवम राजनीतिज्ञ स्वर्गीय नेत्र बहादुर तामाङको स्मृतिमा निर्माणाधीन छ्योर्तेनमा विधिवत रुपमा गुरु रिन्पोछे, अविलोकितेश्वर र अमिताभा बुद्धको पूजा र स्हुङ्ग राख्ने कार्य पूरा भएको छ । छ्योर्तेन निर्माण गर्ने कार्यमा यो पूजा सबै भन्दा महत्वपूर्ण पूजा भएको लामा गुरु राम लामाले बताएका छन् । प्रतिष्ठानले पूजामा संलग्न सम्पूर्ण लामा गुरु, महानुभाव र इष्टमित्रहरुलाई आभार व्यक्त गर्दे सहभागिता र सहयोगको निम्ति धन्यवाद ज्ञापन गरेको छ । छ्योर्तेन निर्माण कार्य स्वर्गीय नेत्र बहादुर तामाङको ४९ को घेवा अगावै सम्पन्न गर्ने तयारी भईरहेको तामाङका कान्छा छोरा एवम प्रतिष्ठानका सदस्य बीरेन्द्र लामाले बताएका छन् । स्वर्गीय नेत्र बहादुर तामाङको ४९ को घेवा मंसिर २४ र २५ गते र छ्योर्तेनमा राह्प्ने मंसिर २६ गते गरिने तामाङका ज्वाई एवम प्रतिष्ठानका सदस्य कृष्ण कुमार लामाले जानकारी दिएका छन् ।नेत्र स्मृति प्रतिष्ठानले स्वर्गीय नेत्र बहादुर तामाङको स्मृतिमा सोही स्थानमा भविष्यमा गुम्बा र नेत्र स्मृति पार्क समेत निर्माण गर्ने लक्ष्य राखेको प्रतिष्ठानका संयोजक राजु लामाले बताएका छन् ।
छ्योर्तेन निर्माणमा समाजका हरेक तह र बर्गबाट भएको साथ र सहयोग गुम्बा र नेत्र स्मृति पार्क निर्माणमा समेत हुने प्रतिष्ठानका संयोजक लामाले विश्वास ब्यक्त गरेका छन् ।