सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका स्याउलेमा एक सय पचास विपन्न परिवारलाई सिरक वितरण गरिएको छ । गाउँमा रहेका दलित तथा विपन्न परिवारका लागि सिरक वितरण गरिएको हो । सामान्य आयस्रोत समेत नहुँदा चिसोका कारण प्रभावित उनीहरुलाई स्थानीय समाजसेवी मिरा सापकोटा जोशी र थ्री सिस्टर्स फाण्डेसनकी निक्की कार्की मानन्धरको अगुवाइमा सिरक वितरण गरिएको हो ।
पुष माघको जाडोमा न्यानो कपडा र ओड्ने ओछ्याउने नहुँदा रात काट्न समस्या भएको देखेपछि आफूहरुले विपन्न परिवारका लागि सिरक वितरण गरिएको समाजसेवी जोशीले बताइन् । ‘भुकम्पले घर भत्किएको छ, पुनःनिर्माण गरिएको घर पनि ब्यवस्थित छैन । न्यानो ओड्ने ओछ्याउने नहुँदा बृद्धबृद्धा र वालवालिकालाई चिसोले रात काट्न गाह्रो छ । त्यसैले विपन्न परिवार छनोट गरेर सहयोग गरिएको जोशीले बताइन ।

सिरक वितरणको लागि विपन्न वस्तीमा पुगेकी निक्की कार्की मानन्धरले स्थानीयको समस्याको विषयमा जानकारी पाएपछि सहयोग गर्न आएको बताइन् । आफूहरुको सहयोगले विपन्न परिवारमा थोरै भए पनि राहत पुग्ने कार्की मानन्धरको बताइन । सिरक पाएपछि जोडोमा राता काट्न सहज हुने भन्दै स्थानीयले खुसी ब्यक्त गरे ।
सिरक लिन आएकी शिबकुमारी विकले भनिन जस्ताको छानो सितले चिसो हुने रात काट्नै गाह्रो थियो । अब न्यानो गरी सुत्न पाइने भयो । त्यस्तै अर्की बृद्धा मंगली तामाङले भनिन् ‘यस वर्षको माघको जाडो अब सजिलै कट्ने भयो । भूकम्पपछिका पाँच हिउँद कष्टकर भयो । दिउँसो त घाम ताप्यो राती त औधी गाह्रो । अब भने ढुक्क भयो ।’ विपन्न परिवारलाई थ्री सिस्टर्स फाउण्डेसन, सिन्धुपाल्चोक च्यम्बर अफ कमर्स, लिगलजुम रिसर्ज सेन्टर, जानकी टेलिभिजन र कान्तिपुर सिसडोल वातावरण सेवा प्रा.लि.को सहयोगमा सिरक वितरण गरिएको हो ।
स्थानीय विपन्न परिवारलाई मिरा सापकोटा जोशी, निक्की कार्की मानन्धर, सिन्धुपाल्चोक च्याम्बर अफ कमर्सका अध्यक्ष दिनेश श्रेष्ठ, अधिबक्ता रामहरि नेपाल, वडाध्यक्ष सानुकान्छा श्रेष्ठ, युवा अभियान्ता वर्षा जोशी र पत्रकार एवम् अभियान्ता उद्धककुमार कार्कीले सिरक वितरण गरेका थिए ।
सामाजिक कार्यमा सकृय युवा अभियान्ता जोशीले आफूहरुले विपन्न तथा पीडित परिवारलाई विभिन्न संघ संस्थासंगको सहकार्यमा सहयोग गर्दै आएकाले सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिने बताइन् ।