सोलुखुम्बु । नेपाल विद्यार्थी संघका नेता शुभराम बस्नेतले शरीर बन्धक तथा अपहरण मुद्धामा सफाई पाएका छन् । जिल्ला अदालत सोलुखुम्बुले बादी दावी नपुग्ने भन्दै नेता बस्नेत सहित तीन जनालाई सफाइ दिएको हो ।
गत जेष्ठ १६ गते नुम्बुर हिमाल हाइड्रोपावरले स्थानीयलाई मुआब्जा र क्षतिपूर्ति नदिएपछि नेता बस्नेतको पहलमा छलफल भएको थियो । तर स्थानीयलाई मुआब्जा र क्षतिपूर्ति दिनुको सट्टा सामुहिक छलफलमा सहभागी भएका हाइडोपावरका प्रतिनिधि राजनकुमार खत्रीले आफूलाई अपहरण गरेको भन्दै जाहेरी दिएका थिए ।
नेता बस्नेतको मुद्धामा प्रतिवादीका तर्फबाट अधिबक्ताहरु डा. गोकुलप्रसाद बुर्लाकोटी, श्यामकुमार खत्री र विदुर लामिछानेले बहश गरेका थिए भने वादीको तर्फबाट जिल्ला सरकारी वकिल श्रीराम खनालले बहश गरेका थिए । उक्त मुद्धामा बस्नेतसंगै स्थानीय भैरब बस्नेत र टिकाजंग खड्काले पनि सफाइ पाएका छन् ।
हाइड्रोपावरको प्रतिनिधिले स्थानीयको जग्गाको क्षतिपूर्ति र मुआब्जा दिनु पर्नेमा स्थानीयलाई त्रशित बनाउन लिखु खोला सरोकार समितिका अध्यक्ष समेत रहेका बस्नेतमाथि झुठा मुद्धा लगाउने दुश्प्रयास भएको बस्नेतका अधिबक्ता श्यामकुमार खत्रीले बताए । गाउँमा भएको समुहिक छलफललाई आहरण र शरीर बन्धक भन्ने अनि वास्तविकता नबुझी मुद्धा दायर गर्ने प्रहरी प्रशासन र हाइड्रोपावरको बदनियत देखिएको अधिबक्ता खत्रीले बताए ।
अधिबक्ता खत्रीले भने ‘यो त सरासर हाइड्रोको दादागरी हो ।गाउँमा जनताको जग्गा जमिन हाइड्रोले हडप्ने अनि मुआब्जा र क्षतिपूर्ति माग्दा उल्टो मुद्धा लगाउँने यो त गलत भयो । बस्नेतले न्याय पाउँनु भएको छ तर फेरी हाइड्रोले यसरी स्थानीयलाई नफसावस । ’
यस अधि पनि उक्त हाइड्रोपावरले दुःख दिएको भन्दै स्थानीयले विरोध गर्दै आएको छन् । हाइड्रोपावर र स्थानीयवीच परियोजना सञ्चाल भएदेखि नै मुआब्जा विवाद रहदै आए पनि आफूहरुको गुनासोको सुनुवाइ नभएको स्थानीयले बताएका छन् ।