कालिकोट । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सर्वोच्च अदालतको फैसला आउन ढिला भए सरकारले घोषणा गरेको मध्यावधि निर्वाचन केही समय पछाडि धकेलिन पनि सक्ने संकेत गरेका छन् ।
प्रेस संगठन नेपाल कालीकोटले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले सरकारले संसद विघटन गरेको निर्णयबारे अदालतमा मुद्दा विचाराधीन रहेकाले निर्वाचन अदालतको फैसलामा भर पर्ने बताएका हुन् ।
गृहमन्त्री थापाले बैशाखमा निर्वाचन गराउन सरकार तयारी अवस्थामा रहेको बताए । ‘अदालतको फैसला ढिला भयो भने निर्वाचन पनि केही समय सर्न सक्छ,’ उनको भनाई थियो ।
उनले संसद विघटन गरेर मध्यावधि निर्वाचनमा जाने सरकारको निर्णयलाई अदालतले सदर गर्ने विश्वास व्यक्त गरे ।
नेकपा सचिवालय सदस्य समेत रहेका नेता थापाले पार्टीभित्रको अन्तरसंघर्षमा प्रचण्ड–नेपाल पक्षले एकता विरोधी काम गरेको आरोप लगाए ।
उनले प्रचण्ड–नेपाल समूहमा उभिनु भनेको फुटको पक्षमा उभिनु भएकाले आफू एकताको पक्षमा उभिएको बताए ।