काठमाण्डौं I मनमोहन मेमोरीयल सामुदायिक अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारी पुनः आन्दोलित भएका छन् । अस्पताल ब्यवस्थापनले सहमति कार्यान्वयन नगरेको भन्दै कर्मचारी आन्दोलित भएका हुन् । नेपाल स्वास्थ्य सहकारी संस्थाद्धारा काठमाण्डौंको ठमेलमा सञ्चालित अस्पतालले गत वैशाखदेखि पारिश्रमिक नदिएपछि असी जना भन्दा बढी कर्मचारी आन्दोलित भएका थिए ।
कर्मचारीको आन्दोलनपछि गत असोजमा तत्काल दुई महिनाको पारिश्रमिक तथा दशै पेस्की दिने र बाँकी पारिश्रमिक पौष मसान्त भित्र दिने सहमति भएको थियो। भाडाको घरमा सञ्चालनमा रहेको उक्त एक सय शैय्याको अस्पताल तत्कालका लागि बन्द गर्ने र पछि पुनः अस्पताल सञ्चालन गरी कर्मचारीलाई पुनःबहाली गर्ने सहमति भएको थियो तर हालसम्म पारिश्रमिक नदिएपछि स्वयम्भुमा रहेको नेपाल स्वास्थ्य सहकारी संस्थाको कार्यालयमै गएर कर्मचारीहरुले आन्दोलन थालेका हुन् ।

तर अस्पताल प्रशासनले ठमेलमा रहेको अस्पताल बन्द गरेर असी कर्मचारीको विचल्ली बनाएको छ । कर्मचारी तथा श्रमिकहरुले आफूहरु अन्यायमा परेको भन्दै श्रम विभागमा समेत उजुरी दिएका छन् । नेपाल स्वास्थ्य सहकारी संस्थाले काठमाडौंको स्वयम्भुमा मनमोहन मेमोरियल शिक्षण अस्पताल, बलम्बुमा कोभिड अस्पताल र रवी भवनमा मनमोहन इस्टिच्युड अफ हेल्थ साइन्स सञ्चालन गरिरहेको छ । उक्त सहकारी संस्थाले सामुदायिक अस्पताल सञ्चालन गर्न हालसम्म नेपाल सरकारबाट २२ करोड अनुदान लिएको छ ।
नेकपा नेता पाण्डे सञ्चालक रहेको अस्पतालले सरकारबाट यति धेरै अनुदान लिए पनि अस्पताल घाटामा रहेको भन्दै कर्मचारीलाई भने गत वैशाखदेखि पारिश्रमिक दिएको छैन । गरीबलाई सुलभ उपचार सेवा दिने भनेर सरकारी अनुदानमा खोलिएको सामुदायिक अस्पतालमा नाफाको लागि राजनीति हावी हुँदा हाल अस्पताल नै बन्द भएको छ भने असी भन्दा बढी कर्मचारीको रोजगारी गुमेका छ ।