नुवाकोट । स्वर्गीय नेत्र बहादुर तामाङको सम्झनामा छ्योर्तेन (माने) निर्माण गर्ने भएको छ । नुवाकोट ककनी गाउँपालिका ५ स्थित लाँकूरेमा स्वर्गीय नेत्र बहादुर तामाङको सम्झनामा छ्योर्तेन (माने) निर्माण गर्न लागिएको प्रस्तावित नेत्र स्मृति प्रतिष्ठानका संयोजक तामाङका जेष्ठ पुत्र सार्क पत्रकार मञ्चका अध्यक्ष राजु लामाले जानकारी दिएका छन ।
“हाम्रो पूजनीय पिता स्वर्गीय नेत्र बहादुर तामाङको नुवाकोट र ककनीको राजनीतिक, सामाजिक, सांस्कृतिक र धार्मिक परिवर्तनमा अतुलनीय योगदान रहेको छ, समाजमा उहाँको योगदानलाई जीवन्त राख्न हामीले उहाँको सम्झनामा छ्योर्तेन (माने) निर्माण गर्ने अठोट गरेका छौं, आशा छ छ्योर्तेन निर्माणमा समाजका सम्पूर्ण पक्षबाट सहयोग र सदभाव प्राप्त हुनेछ,” लामाले बताएका छन ।
लामाका पिता नेत्र बहादुर तामाङको ७७ बर्षको उमेरमा गत कार्तिक ८ गते निधन भएको थियो । लामो समय देखि दम र केही समय यता फोक्सोको क्यानसरबाट पीडित तामाङको दुई पत्नी, सात छोरी र छ जना छोराहरु रहेका छन् । तामाङको ४९ को घेवा बौद्ध संस्कार अनुसार आउँदो मंसिर २४ र २५ गते नुवाकोटको ककनी गाउँपालिका ५, लाँकूरे स्थित निवासमा गर्ने भएको छ ।