जनकपुर । प्रदेश २ सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि ३३ अर्ब ५६ करोड ९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सोमबार साँझ प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले उक्त बजेट सार्वजनिक गरेका हुन् ।
सरकारले कुल बजेटको ४५ दशमलव ९५ प्रतिशत अर्थात् १५ अर्ब ४२ करोड २६ लाख रुपैयाँ चालुतर्फ, ५३ दशमलव ५७ प्रतिशत १७ अर्ब ९७ करोड ८२ लाख पुँजिगत तर्फ र १६ करोड अर्थात् शून्य दशमलव ४८ प्रतिशत वित्तीय व्यवस्था तर्फ विनियोजन गरेको छ ।
मन्त्रालयगत रुपमा हेर्दा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका लागि ४ अर्ब ६२ करोड ९७ लाख, आर्थिक मामिला तथा योजना मन्त्रालय अन्तर्गत २७ करोड ६० लाख, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत ३ अर्ब २५ करोड ६ लाख, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत ३ अर्ब २६ करोड ९९ लाख, आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गत ९४ करोड ९६ लाख, भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत ९ अर्ब १ करोड ६२ लाख र सामाजिक विकास मन्त्रालय अन्तर्गत ६ अर्ब ३३ करोड ८८ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
यस्तै, प्रदेश नीति आयोग तर्फ ४ करोड २९ लाख र अर्थ विविध शीर्षकमा ३ अर्ब २८ करोड रुपैयाँ विनियोजन गरिएको छ । तीमध्ये १ अर्ब ऋण लिने आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव अर्जुन न्यौपानेले जानकारी दिए ।
सरकारले प्रदेशसभा सचिवालयका लागि ४४ करोड १६ लाख रुपैयाँ र प्रदेश लोकसेवा आयोगका लागि ३ करोड २४ लाख रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै, मुख्य न्यायाधिवक्ता कार्यालयका लागि ४ करोड ७९ लाख रुपैयाँ विनियोजन गरिएको छ ।